सिन्धुली । फिक्कल गाँउपालिकाले झगडा नगरी मिलेर बस्ने पाँच जोडी उत्कृष्ठ सासु बुहारीलाई सम्मान गरेको छ ।
सासु र बुहारीको सम्बन्धलाई आमाछोरीको जस्तै बनाउन एकै घरका पाँच जोडी सासु र बुहारी छनौट गरी बिहिबार एक कार्यक्रम बीच उनीहरुलाई जनही नगद पाँच हजार पाँच सय रुपिया, दोसल्ला र प्रमाण–पत्र प्रदान गरी सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा वडा नं. २ बाट बिष्णुमाया आले र उहाँको बुहारी हरिमाया आले, वडा नं. ३ बाट ईन्दिराकुमारी पहाडी र उहाँको बुहारी सुष्मा धमला, वडा नं. ४ बाट बिन्दुमाया मगर र उहाँको बुहारी मनमाया मगर, वडा नं. ५ बाट मसिनीमाया राई र उहाँको बुहारी लालकुमारी राई, वडा नं. ६ बाट बुद्धमाया कामी र उहाँको बुहारी निर्मला कामी हुनुहुन्छ ।
सम्मानित हुने सासु र बुहारीलाई गाँउपालिका अध्यक्ष पार्बती सुनुवार र उपाध्यक्ष राजु बरालले सम्मान गर्नु भएको थियो । गाँउपालिकाको चालु आर्थिक बर्ष ०८१÷०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सासु र बुहारीलाई सम्मान गरिएको गाँउपालिका उपाध्यक्ष राजु बरालले जानकरी दिनुभयो ।
सासु र बुहारी बीच भई रहने झगडालाई हटाई आमा र छोरीको जस्तो सम्बन्ध बनाउन तथा सभ्य समाज निर्माणका लागि उक्त सम्मान कार्यक्रमले प्रोत्साह गर्ने गाँउपालिका उपाध्यक्ष राजु बरालले बताउनुभयो ।
वडा सचिवहरूको संयोजकत्वमा सबै वडाका महिला स्वास्थ्य स्वयम सेविका, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संयोजक, महिला सहकारीका पदाधिकारी, आमा समूहका अध्यक्ष सहितको समिति र वडा अध्यक्षहरू सल्लाहकार रहेको समितिले सिफारिस गरी पठाएका उत्कृष्ट सासु र बुहारीलाई सम्मान गरेको गाँउपालिकाले जनाएको छ ।

