- गाउँमा सिंहदरबारको उद्घाटन
भूमे गाउँपालिका वडा नम्बर ७ धर्मशालामा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले संयुक्त रूपमा नवनिर्मित वडा कार्यालयकाे प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएसँगै वडावासीहरू उत्साहित भएका छन् । भूमे गाउँपालिका–७ का स्थानीयवासीले स्थानीय सरकार आएको करिब ९ वर्षपछि पक्की प्रशासनिक भवन पाएका हुन् । यसअघि अस्थायी भाडाको संरचनाबाट सेवा लिँदै आएका वडावासीहरू अब आफ्नै व्यवस्थित भवनबाट सेवा पाउने भए पछि उत्साहित छन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले महान जनयुद्ध, गणतन्त्रको स्थापना र त्यसपछिका उपलब्धिका कारण आज गाउँ–गाउँमै सरकारी सेवा उपलब्ध हुन सकेको बताउनुभएकाे छ । उहाँले स्थानीय सरकार सुदृढ भएसँगै जनताका आधारभूत सेवा सहज, छरितो र प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभएकाे छ ।
कार्यक्रमका विशेष अतिथि तथा भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले नवनिर्मित वडा कार्यालय भवनले सेवा प्रवाहलाई थप व्यवस्थित र जनमुखी बनाउने विश्वास व्यक्त गर्नुभएकाे छ । अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सबै वडामा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आगामी दिनमा सेवा, सुशासन र विकासलाई सँगसँगै अघि बढाइने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
त्यस्तै, भूमे गाउँपालिकाका उपाध्यक्ष सबिना बुढा मगरले वडा कार्यालयको आफ्नै भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएकाे छ । उपाध्यक्ष बुढाले स्थानीय तहले जनताको विश्वास जित्ने गरी सेवा दिनुपर्नेमा जोड दिदै गाउँमा प्रशासनिक भवन बन्नु सबैका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता रुपधन कामीले जनयुद्ध र हजारौं सहिदहरुकाे त्याग र बलिदानका कारण आज गाउँ-गाउँमा सिंहदरबार बनिरहेको बताउदै अब त्यो एकल राज्य प्रणाली र निश्चित व्यक्तिले शासन गर्ने र जनतालाई दु:ख दिने दिनको अन्त्य भएको बताउनुभएको छ ।
सभा अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष संगम राेकाले लामो समयको प्रतीक्षापछि आफ्नै वडा कार्यालय भवन पाउन सफल भएको उल्लेख गर्दै यसले वडाको प्रशासनिक कामकाजलाई थप सहज बनाउने बताउनुभएकाे छ । अध्यक्ष राेकाले विभिन्न समस्या र चुनौतीका बाबजुद पनि प्रशासकीय भवन निर्माण गर्न विभिन्न ठाउँबाट सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय तथा सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
उक्त उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा अध्यक्षहरु, राष्ट्र सेवक कर्मचारीहरु पत्रकार तथा सुरक्षाकर्मी, स्थानीय वडावासी सबैको सहभागीता रहेको कार्यक्रममा वडा सचिव लाेकेन्द्र ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्र रसाइलीले गर्नुभएको थियो ।।

