काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् ।
‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरी अर्को एउटा समुह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरु राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरु राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर’, उनले भनिन्, ‘शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलिय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।

