काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजनीतिक दलका शीर्ष नेताहरुको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएका बताए ।
उनले भने ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ। संसद हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ। तर स्थानीय तहमा अब दलविहिन राजनीतिको आवश्यकता छ। काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ। त्यहाँका जनप्रतिनिधिहरुलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् रु आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ। यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस्। र स्थानीय तहमा दलविहिन राजनीति होस्।’
उनले मन्त्रीहरुले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरु बढी गरिरहेका भन्दै संसदको भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनी लेखेर राख्न माग गरे।

