काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका राजदूत बन्नका लागि २४० जनाका आवेदन परेका छन्।
समितिका सदस्य शिशिर खनालका अनुसार रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको छ र त्यसमध्ये ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाएको बताए ।
उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनालले ७ जनामध्येबाट पनि २ जना छनोट गर्न जिम्मा पाएका छन् । रास्वपाले विभिन्न ७ मापदण्ड तय गरी राजदूत बन्न इच्छुकलाई आवेदन दिन भनेको थियो।
सरकारले गत असार ७ गते ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

