शनि, भदौ २०, २०८३

केआईआईटी विश्वविद्यालयमा पुनः नेपाली विद्यार्थीको मृत्यु, सांसदहरूद्वारा एनओसी बन्द गर्न सरकारलाई दबाव

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी (KIIT) विश्वविद्यालयमा नेपाली विद्यार्थीको पुनः मृत्यु भएपछि राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ। सांसदहरूले घटनालाई दुर्भाग्यपूर्ण भन्दै सो विश्वविद्यालयमा अब नेपाली विद्यार्थी पठाउने अनुमति (एनओसी) बन्द गर्न सरकारसँग माग गरेका छन्।

आइतबार बसेको राष्ट्रिय सभाको आकस्मिक बैठकमा बोल्दै सांसदहरूले हालै वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको स्मरण गराउँदै, केही समयअघि सोही विश्वविद्यालयमा प्रकृति लम्सालको ज्यान गएको घटनासमेत उल्लेख गरे। उनीहरूले विश्वविद्यालय नेपाली विद्यार्थीहरूको लागि ‘असुरक्षित’ साबित हुँदै गएको धारणा व्यक्त गरे।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने, ‘‘एकै कलेजमा यस्ता दुःखद घटनाहरू पटक–पटक दोहोरिनु गम्भीर विषय हो। नेपाल सरकारले यस्ता संस्थामा अध्ययन गर्न जान लाग्ने विद्यार्थीहरूलाई अब एनओसी जारी गर्नुहुन्न।’’

नेकपा (एकीकृत समाजवादी)की सांसद मदन कुमारी साहले पनि केआईआईटी विश्वविद्यालयमा गम्भीर समस्या रहेको संकेत गर्दै भनिन्, ‘‘जहाँ नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित हुँदैन, त्यहाँ सरकार गम्भीर समीक्षा गरेर कदम चाल्नुपर्छ।’’

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखर कुमार सिंहले भने चार महिनाको अन्तरालमा दुइटा समान प्रकृतिका घटनाहरू दोहोरिनु गम्भीर र चिन्ताजनक रहेको बताउँदै, सरकारले अविलम्ब आवश्यक नीति तथा सुरक्षा उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए।

सांसदहरूले यस्तो घटनाले सम्पूर्ण अभिभावक र विद्यार्थीहरूलाई मानसिक तनावमा पारेको उल्लेख गर्दै सरकारलाई विद्यार्थी सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर निर्णय लिन आग्रह गरे।

अब सरकारको ध्यान केआईआईटी विश्वविद्यालयमा केन्द्रित हुँदै जाने अपेक्षा गरिँदैछ, जसले भविष्यमा नेपाली विद्यार्थीहरूलाई विदेशी शिक्षण संस्थामा पठाउँदा आवश्यक मापदण्ड र सुरक्षा सुनिश्चित गर्न मार्गनिर्देशन गर्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार