- भूमे १ मा अटो दुर्घटना : दुई जनाको मृ*त्यु, पाँच घाइते
निराजन सिर्पाली / रुकुम पूर्व
रुकुम(पूर्व)को भुमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ५:४५ बजे लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । अटो चालक भुमे–१ लुकुमका २९ वर्षीय जोते घर्ति फरार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काक्री र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा २० जनाको उद्धार टोली खटिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल (जिल्ला अस्पताल) ल्याइएको थियो ।
उद्धारपछि उपचारका क्रममा भुमे–१ की ३० वर्षीया रेजिना घर्ति र २५ वर्षीया फिसोल्टी भनिने सबिता घर्तिको निधन भएको अस्पतालले पुष्टि गरेको छ । दुवैको राति करिब ९:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेर घाइते भएका २६ वर्षीय प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्तिकाे भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।
दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको र चालक फरार भएकाले खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यात्रुबहाक अटो अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

