काठमाडौँ । ‘संसारभर नै उनीहरू (अमेरिका र भारत)को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ । उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’
भदौ १३ गते ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको धारणा हो यो । प्रधानमन्त्रीमा नियुक्त भएपछि अध्यक्ष ओली लगातार अमेरिका र भारतप्रति आक्रामक देखिएका छन् ।
यसरी आफ्नै पार्टी बैठकमा भारत र अमेरिकाप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओली असोज ५ गते ११ दिनका लागि अमेरिका जाँदैछन् । हालै अमेरिकाप्रति कडा टिप्पणी गरेका ओलीको अमेरिका भ्रमण कस्तो हुने होला भन्नेबारे विभिन्न टिप्पणी भइरहेको छ ।
विदेश मामिलाका जानकारसमेत रहेका एमाले नेता राजन भट्टराई भन्छन्, ‘पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीमा बोल्दै नबोलेको कुरालाई गलत प्रचार भएको छ । त्यो कुराको खण्डन उहाँले पार्टीको पोलिटब्युरो बैठकमा गरिसक्नु भएको छ । उहाँले आफूले बोल्दै नबोलेको विषयलाई मिडियाले गलत प्रचार गरेको कुरा बैठकमा राख्नुभएको थियो ।’
तर भट्टराईले भनेजस्तो प्रधानमन्त्री ओलीले खण्डन गरेको कुरा बाहिर आएको छैन ।
त्यसअघि पनि राप्रपा नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘नाकाबन्दी र भूराजनीति’ पुस्तक भदौ १० गते विमोचन गर्दै प्रधानमन्त्री ओली भारतप्रति आक्रामक देखिएका थिए । उनले भनेका थिए, ‘ईपीजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै सीमा विवादलगायत विषयमा थप संवाद गरी समाधान गर्न सकिन्छ । प्रतिवेदन नबुझ्ने कुनै कारण नै छैन ।’
त्यसको तीन दिनपछि पार्टीको सचिवालय बैठकमा अमेरिका र भारत दुवै शक्तिराष्ट्रमाथि उनले खरो टिप्पणी गरेका थिए ।
यद्यपि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अमेरिकी सरकारको निमन्त्रणामा नभएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन केन्द्रित रहेको जनाएका छन् ।
भदौ २५ गतेदेखि असोज १२ गतेसम्म संयुक्त राष्ट्र संघको ७९औँ महासभा अमेरिकामा आयोजना हुँदैछ ।
त्यसमा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने भएका छन् ।
भदौ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको अमेरिका भ्रमणलाई स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

