रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुम पूर्वले चुनाव लक्षित कार्यक्रम सिस्ने–४, दादिङमा गरेको छ । शनिबार पार्टीको वडा समितिको आयोजनामा चुनावी अभियान एवं प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै पार्टी कार्यालयका मुख्य सचिव तथा पूर्वमन्त्री गणेशमान पुनले रुकुम पूर्वको विकासका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कम्युनिस्ट पार्टीको विकल्प अरु नभएको बताए । उनले दादिङबासीलाई पार्टीको चुनाव चिह्न तारामा भोट हाल्न अपिल गर्दै जातीय व्यवस्था, निरंकुश पञ्चायती व्यवस्था, बुर्जुवा शिक्षा र विभिन्न विभेदको अन्त्य गर्ने पार्टी तत्कालीन माओवादी केन्द्र नै भएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वले पुथाउत्तरगंगाको मैकोट, सिस्नेको देउखोला, भूमेको प्रत्येक वडाहरूमा सडक सञ्जाल पुर्याउनुका साथै विभिन्न भौतिक संरचनाहरू तयार भएका र बाँकी काम गर्न नेपाली कम्युनिस्ट पार्टीलाई नै जिम्मा दिनुपर्ने मुख्य सचिव पुनको भनाइ छ । पुनले क्रान्तिको सुरु भएको रुकुम पूर्वबाट आगामी दिनमा समाजवादको सुरुवात गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य मोहन बहादुर केसीले प्रचण्डमाथि लागेका आरोपहरू आरोप मात्र रहेको औंल्याए । उनले मतदाता रुकुम पूर्वको भए पनि घर केन्द्रतिरै रहेको भन्दै कतिपय उम्मेदवारलाई प्रचण्डलाई आरोप नलगाउन आग्रह गरेका छन् ।
उनले नेपालको संविधानमा नेपालको नागरिक जुनसुकै स्थानबाट पनि चुनाव लड्न पाइने भनिएको भन्दै प्रचण्डलाई ‘पर्यटक उम्मेदवार’ भन्नेहरू संविधान विपरीत गएको उल्लेख गरेका छन् ।
समाजवादको आधार निर्माण गर्न भनी चुनावी प्रतिस्पर्धामा उभिएको नेपाली कम्युनिस्ट पार्टी र हालसम्म एमालेको वर्चस्व रहँदै आएको सिस्ने–४ मा नेकपाको कार्यक्रमले थप चुनावी माहोल चर्काएको छ । जेन–जी आन्दोलन पछि हुन लागेको यही २१ गतेको निर्वाचनमा पूर्वप्रधानमन्त्री प्रचण्ड स्वयं रुकुम पूर्वमा चुनावी प्रतिस्पर्धामा उभिएपछि यहाँको चुनावी माहोल थप व्यापक बनेको छ ।

