सिन्धुली । करिब दुई दशक अघिसम्म सिन्धुली जिल्लामा विभिन्न चाडपर्व र धार्मिक कार्यमा परम्परागत रुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच सङ्कटमा पर्न थालेको छ ।
पछिल्लो समयमा युवा पुस्ताका व्यक्तिहरुको उक्त नाच प्रतिको वेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरु बृद्ध भई अशक्त हुदै गएपछि संरक्षण अभावमा उक्त नाच सङ्कटमा परेको स्थानीयको भनाई छ ।
अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृतिमा रमाउन थाल्नु र बालन नाचको संरक्षणमा उचित ध्यान नदिँदा उक्त नाच सङ्कटमा परेर हराउदै गएको कमलामाई नगरपालिका–३ चपौली निवासी बालने ५८ बर्षिय शम्मुप्रसाद देवकोटा गुनासो गर्नुहुन्छ ।
‘कुनै बेला गाँउमा आफुहरुलाई बालन नाच्न भ्याई नभ्याईनै हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले बालन नाच्न जान्ने(बालने)को टोली नै जुटाउन सकिदैन । कोही बसाई गए, कोही संसार नै छाडेर गए ।’ एक दर्जन भन्दा बढी व्यक्तिको समूहमा रामायण र महाभारत जस्ता धार्मिक ग्रन्थलाई लयहालेर भट्याई नाचिने बालन नाच्न कुनै बेला छिमेकका जिल्लाहरुले समेत बोलाएको उहाँले स्मरण गराउनुभयो ।
ग्रामीण क्षेत्रका बृद्धबृद्धा भने पछिल्लो समयमा बालन नाच हराएकोमा निकै चिन्तित बन्न थालेका छन् । चपौली निवासी बृद्ध देबीप्रसाद सिग्देल भन्नुहुन्छ, ‘युवा पुस्ताले बालन नाच चटक्कै भुले । सामाजिक प्रचलन, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक पक्षलाई लयात्मक ढङ्गमा नाचिने यस नाचको संरक्षण गर्नुपर्ने आवश्यक देखिन्छ ।’
बाजे पुर्खाको पालादेखि प्रचलनमा रहेको प्रख्यात बालन नृत्य हिजोआज दिनानुदिन लोप हुन थालेर यसको अस्तित्व नै सङ्कटमा परेकोमा उहाँको दुःखेसो छ । उहाँ भन्नुहुन्छ, ‘आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या अन्य धार्मिक कार्यमा रात्रिको समयमा बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले हिजो बाजे पुर्खाको पालादेखि निरन्तर अनुशरण गर्दै आएको यो सांस्कृतिक नाच हामीहरुले पनि बचाउँदै आएका थियौँ ।’
कमलामाई नगरपालिका–३ स्थित कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापामगर पनि सिन्धुली जिल्लामा बालन नाच सङकटमा परेको बताउनुहुन्छ । कलाघर सिन्धुलीले बालन नाचलाई संरक्षण गर्न सुरु गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाँउमा उक्त नाच जान्न जान्ने व्यक्तिलाई बोलाएर नाच्न लगाई हामीले पनि सिक्दै छौं । लोपोन्मुन काल,संस्कृतीलाइ संरक्षण गर्ने कलाघरको अभियान रहेको छ । ’
पछिल्लो समयमा धार्मिक पर्वमा समेत डिस्को नृत्य हुन थालेको कमलामाई नगरपालिका–११ निवासी दिलबहादुर खड्काको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिलेका पुस्ता हिन्दी र अंग्रेजी गीतमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको छ ।’
बालन नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथि मितिमा देख्न र सुन्न पनि पाउन छाडिएको उहाँको गुनासो छ ।
विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुषको समूहले संयुक्तरुपमा गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको उहाँ स्मरण गर्नुहुन्छ । अन्य गीत र नृत्यको तुलनामा बालन नृत्यको रौनक नै अर्कै हुने गरेको स्थानीयका भनाई छ ।
उनीहरुका अनुसार पछिल्लो समयमा हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको मौलिक परम्परामा आधारित बालन नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो नाच संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको छ । बालन नृत्य लोप हुन र सङ्कटमा पर्नबाट बचाउन नयाँ पिँढीका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्नेमा जोड दिईएको छ । हरेक चाडपर्वमा बालन नृत्य अनिवार्यरुपमा प्रस्तुत गर्ने हो भने मौलिक संस्कार र संस्कृतिको संरक्षण हुने बताईएको छ ।

