काठमाडौं | तीनकुनेमा गत १५ चैत २०८१ भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शन आयोजित मुख्य नेतृत्व दुर्गा प्रसाईंले लिएका थिए । सो क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
तीनकुनेमा राजतन्त्र पुनःस्थापनाका मागसहित भएको प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको घटनामा संलग्न रहेको अभियोगमा आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ । व्यवसायी दुर्गा प्रसाईंसहित आठजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
प्रसाईंसँगै अभियुक्त बनाइएका अन्य व्यक्तिहरुमा हरिहरि चौलागाईं, ‘तारा राजावादी’ का रूपमा चिनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारू रहेका छन्।
उनीहरूविरुद्ध कर्तव्य ज्यानको गम्भीर अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको छ। अदालतबाट थुनछेक आदेशपछि अभियोग पुष्टि गर्न थप प्रमाण संकलन प्रक्रिया अघि बढ्नेछ।

