बिहि, कार्तिक १३, २०८२

पतालगङ्गा सहकारी काण्ड: दुई करोडभन्दा बढी ऋण अपचलन गरेर फरार भएका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ

 

झापा, विर्तामोड । झापाको चर्चित पतालगङ्गा बचत तथा ऋण सहकारी संस्था काण्डमा संलग्न भई फरार रहेका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन्। झापा प्रहरीले खनाललाई सुदूरपश्चिमको धनगढीबाट पक्राउ गरी झापामा ल्याएको पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठका अनुसार खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराउने तयारी गरिएको छ।

खनालमाथि २०७८ साल भदौ २३ गते आफू, पत्नी कमलादेवी भट्टराई, भाइ सीताराम खनाल, बहिनी गोमा खनाल भण्डारी र मामा-ससुरा अनन्तजीवन लुइँटेलका नाममा झण्डै २ करोड ६ लाख रुपैयाँ ऋण निकालेर फरार भएको आरोप छ।

यस घटनापछि संस्थाका तत्कालीन उपाध्यक्ष टकप्रसाद भेटवालले २०७८ कात्तिक १६ गते इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

पतालगङ्गा सहकारीमा एक हजार पाँच सयभन्दा बढी सदस्यहरू छन्। खनाल फरार भएपछि अध्यक्षमा नियुक्त भएका युवराज गिरीले निजी सम्पत्ति धितो राखेर बचतकर्ताहरूको रकम फिर्ता गरिरहेका छन्।

यस प्रकरणमा संलग्न रहेको आरोपमा खनालकी बहिनी गोमा खनाल भण्डारी र मामा-ससुरा अनन्तजीवन लुइँटेल पनि पक्राउ परेका थिए। उनीहरूलाई अदालतको आदेशअनुसार धरौटीमा रिहा गरिएको छ। हाल खनालकी पत्नी र भाइ भने अझै फरार रहेका छन्।

सहकारी क्षेत्रमा यो एकमात्र घटना भने होइन। यसअघि विर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्ज सेवा केन्द्र प्रमुख जीवन भुजेललाई पनि तीन करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो।

यस्तै, शिवसताक्षी नगरपालिका–३ मा रहेको उन्नति सहकारीका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई एक करोड ३९ लाख रुपैयाँभन्दा बढीको अपचलन आरोपमा गत कात्तिकमा पक्राउ परेका थिए। ती मुद्धा हाल झापा जिल्ला अदालतमा विचाराधीन छन्।

प्रहरीका अनुसार झापा जिल्लाभित्र सहकारीका नाममा ठगी, अपचलन र भ्रष्टाचारका घटनाहरू बढ्दै गएका छन्। यस्ता घटनाले सर्वसाधारणको विश्वासमा गम्भीर चोट पुर्याएको छ र सहकारी क्षेत्रमा कडाइका साथ निगरानी आवश्यक भएको देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार