सिन्धुली । नेपालको इतिहासमा गौरवपूर्ण विजयको साक्षी रहन सफल ऐतिहासिक स्थल सिन्धुलीगढी आज पर्यटकीय सम्भावनाले पनि देशभरको ध्यान खिच्न थालेको छ। नेपालको एकीकरणकालीन युद्धमा इस्ट इण्डिया कम्पनीको २,४०० संख्याको फौजलाई पराजित गरिएको स्थानका रूपमा चिनिने सिन्धुलीगढी हाल नेपाल सरकारद्वारा घोषणा गरिएका १०० पर्यटकीय गन्तव्यहरूमध्ये एक हो।
वि.सं. १८२४ कात्तिक २४ गते सिन्धुलीगढीमा भएको युद्ध नेपाली इतिहासमा एक महत्वपूर्ण मोड बनेको थियो। कप्तान किनलकको नेतृत्वमा आएको अङ्ग्रेज फौजमाथि वंशु गुरुङको नेतृत्वमा रहेका गोर्खाली फौजले निर्णायक विजय हासिल गर्दा करिब १६ सय अङ्ग्रेज सैनिक हताहत भएका थिए। दक्षिण एशियामै अङ्ग्रेज सेनाको पहिलो पराजयको साक्षी बनेको यो गढीले नेपालको स्वाभिमान जोगाएको ऐतिहासिक तथ्य बोकेको छ।
इतिहास अनुसार यो गढी वि.सं. १४०६ देखि नै मल्ल शासकहरुको प्रतिरक्षा र नियन्त्रणमा रहँदै आएको थियो। वि.सं. १९७५ तिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीमा दुई तले दरबार निर्माण सुरु गरिएको थियो, जुन पछि कर्णेल पुष्करविक्रमले पूरा गरेका थिए। एक समय यो गढी जिल्लाको पुरानो सदरमुकाम समेत थियो, जहाँ वि.सं. २०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालयहरू सञ्चालनमा थिए।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका अन्तर्गत सिन्धुलीमाढीबाट करिब १६ किलोमिटर उत्तरतर्फ अवस्थित सिन्धुलीगढी समुद्री सतहबाट ४,६४८ फिटको उचाइमा रहेको छ। काठमाडौँबाट करिब १५० किलोमिटर दूरीमा पर्ने यो स्थानमा बीपी राजमार्ग हुँदै सहज रूपमा पुग्न सकिन्छ। यात्राका क्रममा तामाकोशी, बागमती, मरिन खोला र सुनकोशी नदीका दृश्यले पर्यटकलाई लोभ्याउँछन्।
गढीमा सानो र ठूलो गरी दुईवटा गढी रहेका छन्। ठूलो गढी सामरिक उद्देश्यका लागि प्रयोगमा ल्याइन्थ्यो, जसमा तोप, गोलाबारुद र पानीको भण्डारण गरिन्थ्यो। सानो गढी भने निगरानीका लागि निर्माण गरिएको थियो। गढीको प्रवेशद्वारबाट करिब १५–२० मिनेटको उकालो यात्रापछि मुख्य भागमा पुग्न सकिन्छ, जहाँ जीर्ण दरबार, सुख्खा इनार, सेन्ट्री, चौतारो तथा पूराना कारागार क्षेत्र अझै देख्न सकिन्छ।
हरियाली फाँटको बीचमा रहेको यो ऐतिहासिक गढीबाट एकैपटक हिमाल, पहाड र तराईको दृश्य अवलोकन गर्न सकिन्छ। उत्तरमा गौरीशंकर हिमाल, दक्षिणमा चुरे क्षेत्रको हरियाली, पूर्वबाट सुनकोशी र पश्चिमबाट बागमती र मरिन खोलाले घेरिएको यो स्थान प्राकृतिक दृष्टिले समेत अत्यन्त मनमोहक छ। यहाँ पुग्ने जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विकास गर्नुपर्ने १०० नयाँ गन्तव्यहरूमध्ये सिन्धुलीगढीलाई समावेश गरेको छ। निर्माण सम्पन्न हुनै लागेको बनेपा–सिन्धुली–तराई जोड्ने बीपी राजमार्गकै कारण यहाँको पहुँच सहज बन्दै गएको छ र आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।
इतिहास, संस्कृति र प्रकृति तीनवटै तत्वको समिश्रण रहेको सिन्धुलीगढी नेपालको राष्ट्रिय गौरवको प्रतीक हो। संरचनागत संरक्षण र व्यवस्थित प्रवर्द्धन गर्न सकिएमा सिन्धुलीगढी देशकै प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्ने सम्भावना उच्च देखिन्छ।

