भक्तपुर । मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापा , त्यस्तै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युवायुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाउनुभयो ।
कार्यक्रममा मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री गोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो । धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।

