सिन्धुली । गत बर्षको बढी पहिरोबाट क्षतीग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्डमा पहिरो र कटानका कारण जोखिमपुर्ण यात्रा कायमै रहेको छ ।
बाढी पहिरो गएको झण्डै एक बर्ष हुन लाग्दा पनि ६० किलोमिटर लम्बाईको उक्त खण्डमा सुनकोसी नदीले कटान गरेको सडक मर्मत र एक दर्जन भन्दा बढी ठाँउमा सडकमा थुप्रिएको पहिरो पन्छाउने काम पूर्ण रुपमा नहुदा सबारी यात्राको जोखिम कायम नै रहेको स्थानीय बासिन्दा बताउछन् ।
खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भाग सहित खोटाङ्, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्कि(कालो पत्रे) का कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाँउमा बाढी पहिरोले भत्काएर असुरक्षीत बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाँउपालिकाको सुनकेसी नदीको किनार हुदै निर्माण भएको छ ।
स्थानीयका अनुसार गत बर्ष असोज ११ र १२ गतेको बाढी पहिरोबाट खुर्कोट–घुर्मी खण्डको विभिन्न स्थानमा सडक भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा अझै कठिनाइ छ । बाढी पहिरोले उक्त खण्डको बलेनी, मुर्कीबेसी, कुखुरेटार, कालिआँप, च्याकुटार, सोखुबेसी लगायतका ठाँउमा बढी क्षती गरेको छ । मध्य पहाडी सडक आयोजनाले गत जेठको पहिलो हप्तामा ठेक्का लगाई बढी क्षती भएको र अत्यावश्यक ठाँउमा सडक मर्मत सुरु गरेपनि काम अझै सकिएको छैन ।
फिक्कल गाँउपालिकाको सोखुबेसीमा गत बर्षको बाढी पहिरोबाट सुनकोसी नदीको बाढीले झारेको झण्डै दुई सय मिटर सडक मर्मतको काम सुरु गरिएपनि उक्त नदीमा पानीको सतह बढ्ने बित्तिकै असारको सुरुबाटै काम रोकिएको फिक्कल गाँउपालिका अध्यक्ष पार्बती सुनुवार बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘राजमार्गको ठाँउ–ठाँउमा गएको पहिरो एकतर्फी यातायात सञ्चालन हुने गरी पन्छाएको छ, पुरै पन्छाएको छैन । उक्त आयोजनाको ठेक्का लगाएर काम भएको ठाँउमा माटो पुर्नु पर्ने भएकोले त्यहाँ पन्छाएको छ । अन्यत्र पन्छाएको छैन ।’
पहिरो पन्छाउन दुई दिनअघि मात्रै आफुले आयोजना प्रमुखसँग कुरा गरेको तर पन्छाउने काम नभएको उहाँले सुनाउनुभयो । खुर्कोटदेखि घुर्मिसम्मको करिब ६० किलोमिटर सडक खण्डमा दर्जनौँ ठाउँमा माथिबाट पहिरो खसेको छ भने धेरै स्थानमा सुनकोसीले राजमार्ग कटान गरेको छ । पहिरो पन्छाउने र कटान भएका स्थानमा पुनर्निर्माण गर्ने काम पूर्ण रुपमा हुन नसक्दा दुर्घटनाको जोखिम झन् बढेको छ ।
गोलन्जोर गाँउपालिकामा सुनकोसी नदीको बाढी र राजामार्गको माथिबाट आएको पहिरोले हैबार, बेलेनी, मुर्किबेसी, कुखुरेटार, कुडुले लगायतका ठाँउमा सडक क्षती भएको छ । सडक आयोजनाले बलेनी र मुर्किबेसीमा सुनकोसी नदीले कटान गरेको सडक मर्मत बाहेक अन्यत्रको पहिरो पुर्ण रुपमा पन्छाउने काम नगरेको स्थानीयको गुनासो छ ।
गोलन्जोर गाँउपालिका–२ का अध्यक्ष दौलत कार्की सडक आयोजनाले एकतर्फी गाडी सञ्चालन हुने गरी मात्रै पहिरो पन्छाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘बाढीपछि राजमार्ग निकै जोखिमपूर्ण बनेको छ । बर्खा लागेसँगै खुर्कोट–घुर्मी खण्डको यात्रा त्रासपूर्ण छ । आकासबाट पानी पर्ने बित्तिकै माथिबाट कतिखेर पहिरो आई सडकमा थुप्रिने हो, ठेगान हुन्न ।’
सडकको बिग्रदो अवस्थाका कारण सवारीसाधन तथा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । खुर्कोट–घुर्मी खण्डको यात्रा भगवान भरोसा रहेको उहाँले बताउनुभयो ।
यता मध्य पहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापले उक्त खण्डमा सहयोगी कन्ट्रक्सन प्रालीले जेठको पहिलो सातामा भ्याट सहित करिब १० करोड रुपियामा ठेक्का सम्झौता गरी गत बर्षको बाढी पहिरोबाट क्षतीग्रस्त सडक मर्मतको काम भई रहेको जनाएको छ । उक्त कार्यालयका डिभिजन प्रमुख बिदुर पौडेलका अनुसार बर्षाअघि काम गर्नै पर्ने ठाँउमा सडकको मर्मत सुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘क्षतीग्रस्त ठाँउमा तारजालि हालेर ग्याभिङ् र प्लम्ब वाल लगाएर मर्मतको काम भई रहको छ । अहिलेसम्म बित्तिय प्रगति ४० प्रतिशत सकिएको छ ।’

