बुध, कार्तिक १२, २०८२

कमला नदी जलाधार क्षेत्र संरक्षण कार्य प्रभावकारी

सिन्धुली । जिल्लामा चुरे क्षेत्रमा हुने भू–क्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशिल आयोजना प्रभावकारी बनेको छ । सिन्धुलीको कमला नदी जलाधार क्षेत्र संरक्षण गर्ने उद्देश्यले सञ्चालित उक्त आयोजना चुरे क्षेत्रमा हुने भू–क्षय र नदी कटान रोकथामका लागि प्रभावकारी बनेको हो ।
संयुक्त राष्ट्र सङ्घको सहयोगमा चुरे उत्थानशिल आयोजना जङ्गल, जमिन र जल संरक्षण गर्ने उद्देश्यले जिल्लाका दुधौली नगरपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाँउपालिकामा विगत पाँच बर्षदेखि सञ्चालन भई रहेको छ । विभिन्न स्थानमा सञ्चालित उक्त आयोजना अन्तर्गत चुरे क्षेत्रका विभिन्न ठाँउमा खोल्सा र झोरामा बाँसको छेकबार, तारजाली भरेर छेकबाँध, संरक्षण पोखरी, झाडी सरसफाई गरी विरुवा संरक्षण लगायतका काम भई रहेको खोल्साखाल्सीमा स्थानीयले जनाएका छन् ।
उक्त आयोजनाले स्थानीयसँग सहकार्य गरी काम गरि रहेको कमलामाई नगरपालिका–८ का अध्यक्ष कोमलकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘वडाबाट हुन नसकेको काम उक्त आयोजनाबाट भई रहेको छ । यस वडामा कमला नदीको सहायक जलाधार क्षेत्र खहरेको कटानबाट असुरक्षित बस्ति संरक्षण, बाढी नियन्त्रणका लागि छेकबाँध, सुख्खा पोखरी निर्माण लगायतका काम भएका छन् । त्यसले कमलो भू–बनौट रहेको चुरे जङ्गलको ढुङ्गा, माटो, गिटी र बालुवा बचाउन सहयोग पुगेको छ ।’
उक्त आयोजनासंयुक्त राष्ट्र सङ्घको आर्थिक(ग्रिन क्लाईमेट फण्ड) सहयोगमा नेपालको कोसी, मधेस र बागमती प्रदेशमा सञ्चालन भई रहेको छ । बागमती प्रदेशको पनि सिन्धुली जिल्लामा कमला नदीको जलाधार क्षेत्र अन्तर्गत आर्थिक बर्ष ०७८÷०७९ देखि सात बर्षका लागि कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाँउपालिकामा सञ्चालन हुदै आएको छ । सुरुको दुई बर्ष योजना बनाउने प्रारम्भिक चरणमा बितेको र त्यसपछि योजना कार्यान्वयन भई रहेको आयोजनाले जनाएको छ ।
उक्त आयोजनाका प्रमुख चुडामणी खतिवडाले छेकड्याम बनाई माथि(मुहान)बाटै चुरेको माटो, ढुङ्गा र बालुवालाई रोक्ने र सङ्लो पानी बग्न दिने आयोजनाको उद्देश्य रहेको उहाँले जानकरी दिनुभयो । उहाँले आयोजना स्थानीयसँगको सहकार्यमा प्रभावकारी ढङ्गले कार्यान्वयन भई रहेको चर्चा गर्दै कमला नदीको जलाधार क्षेत्र संरक्षण गर्ने कार्य भई रहेको बताउनुभयो ।
जिल्लामा यो बर्ष प्राकृतिक पुनर्उत्पादन सहयोग सम्बन्धि ६० वटा योजना सञ्चालन भएका छन । ती मध्ये वन कार्य योजना सहयोगका २४ वटा, नदी किनारा स्थिरिकरण तथा गल्छी नियन्त्रणका २८ वटा, संरक्षण पोखरी चार वटा र छेकबाँध चार वटा रहेका आयोजनाका योजना तथा अनुगमन अधिकृत प्रलेस बस्नेतले जानकारी दिनुभयो । चुरे संरक्षण सम्बन्धि तालिम, गोष्ठि, कृषक पाठशाला, नर्सरी, बृक्षा रोपण जस्ता गतिविधि भई रहेको उहाँको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख कार्साङ् लामाले आयोजनाले चुरे क्षेत्रमा हुने भू–क्षय तथा खहरे नियन्त्रणका लागि शिरबाट रोक्दै नियन्त्रण गर्ने काम भई रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त कार्य प्राविधिक हिसाबले राम्रो र वैज्ञानिक पनि लाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार