सिन्धुली । बर्खाको मौसममा जोखिम बढेसँगै बीपी राजमार्गको खुर्कोट–काभ्रे भञ्ज्याङ खण्डमा रातीको समयमा सबारी सञ्चालन गर्न नपाईने यसअघिको निर्णय एक महिनाका लागि थपिएको छ ।
सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार हेटौडामा भएको छलफलले उक्त खण्डमा रातीको समयमा बेलुका ६ः३० बजेखि बिहान ५ बजेसम्म यातायात (सार्बजनिक÷नीजि) सञ्चालन रोक लगाउन निर्णय एक महिना(३०)का लागि थप गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त खण्डमा यसअघि १५ दिनका लागि रातीको समयमा यातायात सञ्चालन रोक लगाउने निर्णय भएको थियो । उक्त समयावधि सकिएकाले शुक्रबारदेखि लागू हुने गरी एक महिनाका लागि म्याद थप गरिएको हो ।’
यस अघि सिन्धुली जिल्लाको मुलकोटमा सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका संयुक्त सुरक्षा समितिको बैठक बसी खुर्कोट–काभ्रे भञ्ज्याङ खण्डमा असार ६ गतेदेखि लागू हुने गरी १५ दिनका लागि रातीको समयमा यातायात सञ्चालनमा रोक लगाईएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो, ‘हामी हेटौडामा थियौं । तीन जिल्लाको सिडिओको सल्लाह अनुसार ईमर्जेन्सि अवस्थालाई त्यही हिसाबले हेरौला भनेर एक महिनाका लागि म्याद थप गर्ने निर्णय भएको हो ।’
हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुदा कुनै पनि समयमा बर्खाका कारण विपदको अवस्था सिर्जना हुन जाने भएकाले सो हुन नदिन र यात्रु तथा सबारी सुरक्षामा सतर्कता अप्नाउनका लागि उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गत बर्ष असोजको बाढी पहिरोबाट क्षतविक्षेत भएको बीपी राजमार्गमा सिन्धुलीको खुर्कोटदेखि काभ्रे भज्याङ् खण्ड बढी जोखिम रहेकाले उक्त निर्णय लिएको हो । काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमा र काठमाण्डौ हिडेका गाडीहरू सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था मिलाइएको छ ।
राजमार्गको पर्खाल भत्किने, पहिरो खस्ने, सडक चिप्लिने, भिजेका ठाउँमा गाडी चिप्लिने तथा रातिको समय अँध्यारो हुने जस्ता कारणले दुर्घटनाको सम्भावना बढेकाले यातायातमा अस्थायी रोक लगाउनु परेको हो । गत बर्षको बाढी पहिरोबाट क्षतबिक्षत भएको बीपी राजमार्गका् नेपालथोक–भकुण्डेबोसी खण्डको करिब १२ किलोमिटर सडक अहिले बैकल्पिक र अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा ल्याईएको छ ।
राजमार्गको क्षतीग्रस्त सडक खण्डको हालसम्म पुनर्निर्माण हुन नसक्दा बर्खायाममा यात्रुले जोखिम बेहोरेरै यात्रा गर्नु पर्ने अवस्था छ । सडक भत्किएका कारण झण्डै नौ महिनादेखि रोसीखोला तथा अस्थायी सडकबाट सवारीसाधन वारपार हुनुपर्ने बाध्यता रहको स्थानीय बासिन्दा बताउछन् ।

