बुध, कार्तिक १२, २०८२

कमलामाई नगरपालिका उज्यालो नगर बन्दै

सिन्धुली । कमलामाइ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउने अभियान सुरु गरेको छ ।
नगरपालिकाले यो बर्षदेखि ‘नगर उज्यालो कार्यक्रम’ अन्तर्गत मानिसको बढी चहलपहल हुने बजार क्षेत्र र मुख्य चोकहरुमा हाईमास्ट लाईट जडान गरी नगर क्षेत्रलाई उज्यालो बनाउने अभियान सुरु गरेको हो । हालसम्म छ स्थानमा उक्त लाईट जडान गरी सकेको नगरपालिकाले जनाएको छ ।
बजार क्षेत्र र मुख्य चोकहरुमा जडान गरिएको उक्त बत्ति(लाईट)बाट शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । हाइमास्ट लाइट जडान नभएका मुख्य चौक र सडक किनारामा सोलारबत्ती जडानको काम पनि भैरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्पताल क्षेत्र, मुख्य बजार क्षेत्र र खम्बेचौर आसपासमा समेत सोलारबत्ती जडान कार्य सम्पन्न भैसकेको छ ।’ कमलामाई नगरपालिकाको बजार क्षेत्र तथा मुख्य चोकहरु खम्बेचौर, बीपी राजमार्ग अन्तर्गत ढुंग्रेबास, भिमान, बुद्धनगर, शान्ति नगर चोक र मदन भण्डारी राजमार्ग अन्तगर्त रानीबासमा हाईमास्ट लाईट जडान भई सकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका ईलेक्ट्रिनिक ईन्जिनियर नबिन बस्नेतले एउटा हाईमास्ट लाईटमा आठ वटा चार सय वाट क्षमताको बत्ति हुने र जडान लागत नौ लाख ८३ हजार रुपिया रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ती बत्तिको वारेन्टी दुई बर्षको रहेको छ ।’ अब मिलनचोक, चियाबारी, धुराबजारको सिरान र दुई नम्बर बजारको अन्तिममा हाईमास्ट लाईट बिस्तारका लागि बजेट बिनियोजन भई सकेको र टेण्डर हुन बाँकी रहेको ईन्जिनियर बस्नेतले सुनाउनुभयो ।
उहाँका अनुसार एउटा हाईमास्ट लाईटले रातको समयमा तीन सय मिटर वरपरसम्म उज्यालो दिन्छ । शान्ति सुरक्षा र रातको समयमा हुने चोरीका घट्नालाई न्युनिकरण गर्न उक्त बत्ति जडान गर्न सुरु गरिएको हो । हाईमास्ट लाईट जडानसँगै उच्च प्रविधि क्षमताको सिसि क्यामेरा पनि ढुङ्ग्रेबास, धुराबजार, शान्ति नगर र माझीटार चेकपोष्टमा जडान गरिएको छ ।
नगरपालिकाले मानिसको बढी चहलपहल हुने बजार क्षेत्र र चोकहरुमा हाईमास्ट लाईट जडान सुरु गरेसँगै नगरबासी पनि उज्यालो नगर देखेर उत्साहित बनेका कमलामाई नगरपालिका–१३ रानीबासका बासिन्द पुजन बख्रेल बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘रातीको समयमा उक्त बत्ति बलेको स्थानमा दिउसो घाम लागेजत्तिकै उज्यालो देखिदो रहेछ । सबैले सकारात्मक रुपमा लिएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार