सिन्धुली । दुधौली नगरपालिका–१३ अरुणठाकुर निवासी विपन्न वर्गकी नन्दमाया कटुवालले यो बर्ष घरको छानोबाट खर(फुस) हटाएर रातो जस्तापाता लगाउनु भएको छ । गाँउका अन्य हुनेखाने व्यक्तिको जसरी आफ्नो घरको छानो पनि रातो जस्तापाताले टल्किदा उहाँ खुशीले फुरुङ्ग हुनु भएको छ ।
‘गाँउको बीचमा आफ्नो मात्रै घरको छानोमा खर देख्दा निकै कम्जोरी महसुस हुन्थ्यो, अहिले त्यो पनि हटेको छ,’ उहाँले भन्नुभयो, ‘छिमेकमा अरुको घर हे¥यो, कसैको घरमा खरको छानो देख्दिन । अब भने यो बर्षबाट अरुको सरह आफ्नो घरको छानो देख्दा निकै खुशी लागेको छ ।’ घरमा जस्तापाता लगाएसँगै छानाबाट पानी चुहिने, आगालागि र हुरिबतासको जेखिम घटेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘रहर भएर पनि परिवारको आर्थिक अवस्था कम्जोर भएकाले घरमा जस्तापाता लगाउन सकि रहेको थिईन । बल्ल सहरी विकास तथा भवन कार्यालयले रहर पुरा गरि दियो ।’ बागमती प्रदेशको जनता आवास कार्यक्रम अन्तग उक्त कार्यालयले जस्तापाता खरिद गर्न नन्दमायालाई दुई किस्तामा ६० हजार रुपिया सहयोग गरेपछि उहाँको घरमा रङ्गित जस्तापाता टल्किएको हो ।
जनता अवास कार्यक्रम अन्तर्गत सिन्धुली जिल्लामा दुधौली नगरपालिका सहित तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोसी, हरिहरपुरगढी र घ्याङ्लेख गाँउपालिकामा घरको छानाबाट खर हटाउने अभियान सञ्चालन भई रहेको छ । यि पालिकामा गत बर्ष र यो बर्ष गरी एक हजार २८६ घरबाट खरको छानो हटाई रातो रङ्गित जस्तापाता लगाएको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबै घरबाट खरको छानो हटाएर जस्तापाता लगाएपछि दुधौली नगरपालिकाको वडा नं. १३ अरुणठाकुरलाई केही दिनअघि एक समारोह बीच खरको छानो मुक्त वडा समेत घोषणा गरिएको छ । तीनपाटन गाँउपालिकाका वडा नं. ३,७,८,१० र ११ पनि खरको छानो मुक्त भई सकेको र घोषणा गर्न बाँकी रहेको छ ।
स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ती पालिकामा गत आर्थिक बर्ष ०८०÷०८१ मा ५३८ घरबाट र चालु आर्थिक बर्ष ०८१÷०८२ मा ७४८ घरमा खरको छानो हटाई रातो रङ्गित जस्तापाता लगाएको कार्यालय प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जस्तापाता लगाई घरबाट खरको छानो हटाउन एक हजार २८६ जनाले सम्झौता गरेका छन् ।
‘घरको छानोबाट घरको छाना हटाएर जस्तापाता लगाउन एक जना लाभग्राहीले दुई किस्तामा गरी ६० हजार रुपिया पाउछन्,’ कार्यालय प्रमुख घिमिरेले थप्नुभयो, ‘सम्झौता गर्ने बित्तिकै पहिलो किस्ता ३० हजार रुपिया र बाँकी रकम काम सकेपछि पाउछन् । उक्त रकम जस्तापाता लगाउन पर्याप्त देखिएको छ ।’
दुधौली नगरपालिकामा १७६ जना, तीनपाटन गाँउपालिकामा ५१९, फिक्कल गाँउपालिकामा ११५, गोलन्जोर गाँउपालिकामा २६१, सुनकोसी गाँउपालिकामा ६१, हरिहरपुरगढी गाँउपालिकामा १५० र घ्याङ्लेख गाँउपालिकामा सात जनाले घरको छानोबाट खर हटाई जस्तापाता लगाउन सम्झौता गरेका छन् । अहिले ती सबैले घरको छानोबाट जस्तापाता हटाई सकेको कार्यालयले जनाएको छ ।

