बुध, कार्तिक १२, २०८२

मुर्की र थाङ्ग्रे गाउँमा घर–घरमा धारा

सिन्धुली । आफ्नै घरको आँगनमा रहेको धारामा चौबिसै घण्टा खानेपानी आउदा गोलन्जोर गाँउपालिका–३ थाङ्ग्रे निवासी गृहणी साबित्रा बयलकोटीलाई करेसाबारीमा तरकारी खेती गर्न समेत सुविधा भएको छ । खानेपानीका लागि उपभोग गरेर बढी भएको पानीले उक्त सुविधा पुगेको उहाँको भनाई छ ।
गृहणी बयलकोटीले भन्नुभयो, ‘बर्खामासमा गाँउका खोल्सा खाल्सीमा पानी पलाए पनि हिउद मौसमको सुरुसँगै खानेपानीका लागि सकस सुरु हुन्थ्यो । झन सुख्खा मौसममा त खानेपानी खोज्दै विहान बित्दथ्यो । अब भने खानेपानीका लागि ढुक्क भएको छ । सबैको घर–घरमा खानेपानीको धारा झरेको छ ।’ आफुलाई खान पुग्ने तरकारी फलाउन सके मात्रै पनि धेरै खर्च जोगिने उहाँको भनाई छ ।
‘एक घर, एक धारा’ अभियान अन्तर्गत दलित र विपन्न परिवारको बसोबास रहेको थाङ्ग्रे र मुर्की गाँउका लागि सञ्चालित दुई वटा खानेपानी योजना सम्पन्न भई गत जेठ महिनामा उद्घाटन भएसँगै खानेपानीको समस्या हटेको छ । थाङ्ग्रे गाँउमा एउटा सामुदायिक भवन सहित ११ घर र मुर्की गाँउमा एउटा सामुदायिक विद्यालय सहित १८ घर परिवारमा खानेपानी सुविधा उपलब्ध भएको स्थानीय बताउछन् ।
थाङ्ग्रे खानेपानी उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर बयलकोटीका अनुसार खानेपानीको सुविधा पुगेसँगै उपभोक्ताले मासिक ५० रुपिया सङ्कलन गर्न थालेका छन् । खानेपानी उपभोग गर्ने घर परिवारबाट उक्त रकम सङकलन गर्न सुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘समितिको निर्णय अनुसार खानेपानी संस्थाको नाममा बैङ्कमा खाता खोली उक्त रकम जम्मा गर्न सुरु गरेका छौं । पछि योजना टुटफुट भयो भने सानोतिनो मर्मतका लागि अरुलाई गुहार्नु नपरोस भनेर मासिक रकम ५० रुपिया जम्मा गर्न थालेका हौं ।’
त्यस्तै मुर्की खानेपानी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर सार्की पनि उपभोक्ताले अहिले व्यवस्थित रुपमा खानेपानी उपभोग गर्न पाएका सुनाउनुहुन्छ । ‘खानेपानीका लागि मुर्की र थाङ्ग्रेका लागि एउटै नियम बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘गत बर्ष जेठमा सम्झौता गरी खानेपानी योजना निर्माण सुरु गरेका थियौं । अहिले सबैको घरका खानेपानी चौबिसैं घण्टा झर्दा दङ्ग परेका छौं ।’
उहाँका अनुसार पहिले गाविस हुदा ढुङ्गेधारा मुहानबाट मुर्की गाँउमा खानेपानी ल्याईएको थियो । चार÷पाँच घरको बीचमा पाईपबाटै थापेर खानेपानी उपभोग गर्नु पर्ने अवस्था थियो, धारा थिएन । ‘जमिन बाहिर नै पाईप थियो, बेला–बेलामा पाईप डढेलोले खान्थ्यो,’ अध्यक्ष सार्कीले भन्नुभयो, ‘अहिले व्यवस्थित धारा बनेको छ ।’
योजना अन्तर्गत च्याम्बर, इन्टेक, ट्याङ्की, धारा र पाईप लाईन बिस्तार लगायतका संरचना निर्माण गरी गाँउमा खानेपानी बितरण गरिएको छ । कुल ६३ लाख रुपैयाँको लागतमा यि दुबै खानेपानी आयोजना ब्याक टु लाइफ इभी जर्मनीको सहयोग र सीएसडीएस सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले स्थानीयकोसंगै गाउँपालिकाको पनि सपना पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गाउँगाउँमा खानेपानी पु¥याउने जुन सपना देखेका थियौं, आज त्यो सपना यथार्थमा परिणत भएको छ ।’ मुर्की र थाङ्ग्रे गाउँका बासिन्दाहरू वर्षौंदेखि खानेपानीका लागि लामो दूरी हिड्न बाध्य थिए । विशेषगरी महिलाहरूले दिनको दुईदेखि तीन घण्टा पानीको जोहो गर्नमा खर्चिन्थे । अब घर आँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको स्थानीयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार