सिन्धुली । पर्यटकिय गन्तब्य बन्दै गएको सिन्धुली जिल्लाको मरिण गाँउपालिका–५ महादेवस्थानस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या पोखरीमा पछिल्लो समयमा पुर्वाधार निर्माणले तीब्रता पाएको छ ।
गाँउपालिकाले पोखरीलाई पर्यटकिय गन्तब्य बनाउन पुर्बाधार निर्माणमा तीब्रता दिएको हो । पर्यटन प्रबद्र्धन गर्नका लागि पोखरी परिसरमा धमाधम पूर्वाधार निर्माण हुदै गएको छ । पूर्वाधार निर्माणमा अहिलेसम्म दुई करोड रुपियाभन्दा बढी लगानी भई सकेकोको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाका अनुसार पञ्चकन्या पोखरीमा अहिले स्वागत गेट, मरिण खोलालाई झल्काउने थ्रिडीआर्ट, सौर्य बत्ति, विभिन्न पार्क, प्रतिक्षालय, बाँसको भ्युटावर, माझि राष्ट्रिया सांस्कृतिक सङ्ग्राहलय, बाल उद्यान, प्रशासनिक भवन लगायतका पुवर्धार निर्माण भएका छन् । गाँउपालिका, सङ्घिय तथा बागमती प्रदेश सरकार, विभिन्न सामाजिक सङ्घ संस्थाबाट आर्थिक सहयोग जुटाई पुर्वाधार निर्माणलाई तीब्रता दिईको हो ।
जिल्लाकै एक मात्र उक्त प्राकृतिक पोखरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी गाँउपालिकाको प्रमुख आम्दानीको स्रोत बनाउने र जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।
‘कतिपय पुर्वाधार निर्माण भई सकेका छन्, कतिपय धमाधम निर्माण हुदै गएका छन्,’ गाँउपालिका अध्यक्ष बिमर्श मोक्तानले भन्नुभयो, ‘कतिपय व्यक्तिले स्वस्फूर्त रुपमा पनि पुर्वाधार निर्माण गर्नु भएको छ । पोखरीको विकासका लागि गाँउपालकाले गुरु योजना बनाएर काम थालेको छ । २०८२ साललाई श्रमदान बर्षको रुपमा लिएर पोखरीमा पुर्वाधार निर्माणमा श्रमदान जुटाईएको छ ।’
पञ्चकन्या पोखरी परिसरमा घेराबेरा, वनभोजस्थल, सौचालय, खानेपानी र त्यहासम्म पुग्ने सडकको व्यवस्था भई सकेको उहाँले जानकारी दिनुभयो । पञ्चकन्या पोखरीमा १२ महिना नै फूल्ने कलमको फुल, स्वच्छ र हराभरा वातावरण, ऐतिहासिक तथा धार्मिक जनविश्वासले पर्यटकलाई अकर्षक गर्दछ ।
माझी समुदायको ऐतिहासिकता झल्किने गरी सङ्घिय सरकारको ५५ लाख रुपियाको लागतमा माझी राष्ट्रिय सांस्कृतिक सङ्ग्राहलय निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै प्रदेश सरकारले यो बर्ष पुर्वाधार निर्माणका लागि १४ लाख रुपिया उपलब्ध गराएको छ ।
गाँउपालिकाले पोखरीबाट अहिलेसम्म आम्दानी नलिएको र निर्माणाधिन पुर्वाधार सम्पन्न गरेर साउन महिनामा उद्घाटन गरी पर्यटकका लागि शुल्क निर्धारण गरिने गाँउपालिका अध्यक्ष मोक्तानको भनाई छ । स्थानीय तहमा जनप्रतिनिधि निर्बाचित भएर आएसँगै पञ्चकन्या पोखरीको संरक्षण सुरु गरिएको बताईएको छ ।
वरिपरि जङ्गलैजङ्गल, बीचमा अपत्यारिलो दह । न माथिबाट पानी आउने ठाँउ छ, न तलतिर निस्किने निकास छ । पोखरीसँग सम्बन्धित किंवदन्तिहरु जति नै अनौठा छन्, त्यति नै अनौठो पञ्चकन्या पोखरीको अवस्थिती रहेको मन्दिरका पुजारी बखतबहादुर माझी सुनाउनुहुन्छ ।
उहाँका अनुसार उक्त पोखरीको नामाकरण त्यहाँ बस्ने पाँच कन्या र उनीहरुले गरेको चमत्कारका आधारमा गरिएको हो । ‘किंवदन्ति अनुसार पोखरीमा पाँच वटी कन्या बस्दथे’ पुजारी माझीले भन्नुभयो, ‘वरिपरिको खेतमा रोपाइँका बेलामा ती कन्या रोपाहार बनेर आउथे । कसैले खेती लगाउन नसके पञ्चकन्यालाई भाकेर गुहारेपछि भोलिपल्ट खेत रोपिएको हुन्थ्यो भन्ने पोखरीको अर्को किंबदन्ति पनि छ ।
झण्डै पाँच दशक अघिसम्म पोखरीको क्षेत्रफल निकै विशाल रहेको बताईए पनि अहिले पुरिदै गएको उहाँले बताउनुभयो । त्यतिखेर पोखरीको माझमा एउटा खम्बा थियो । जङ्गलबाट पोखरीमा पातपतिङ्गर खस्यो कि, खम्बामा सँधै बस्ने हरियो चराले चुच्चाले त्यो पात टिपेर फाल्ने गरेको स्थानीय बासिन्दा बताउछन् । पोखरीको छेउमै पञ्चकन्याको मन्दिर छ ।
पुर्वाधारको विकाससँगै पञ्चकन्या पोखरीमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएका छन् । मन्दिरको दर्शन गर्न र प्रत्येक वर्ष धान्यपूर्णिमाका दिन लाग्ने मेलाभर्न श्रद्धालुहरु आउने पोखरीसँग निकट स्थानीय बासिन्दा सम्भु माझी बताउनुहुन्छ ।

