सिन्धुली । दुधौली नगरपालिका–१३ खानिबेसिस्थित खानीखोला पुल बाढीले बगाउदा स्थानीयलाई समस्या भएको छ ।
स्थानीय बासिन्दाको जनश्रमदान समेत जुटाएर वडा कार्यालयको बजेटबाट गत बर्ष मात्रै निर्माण गरिएको उक्त पुल केही दिनअघि खानीखोलामा आएको बाढीले बगाएको हो । पुल बगाउदा अरुणडाँडामा रहेको माविमा पढ्न जाने विद्यार्थी र स्वास्थ्य चौकीमा उपचार गर्न जाने सर्बसाधारण बढी प्रभावित भएका उक्त वडाका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।
बर्षादको मौसम भएकाले पुल बगाएपछि स्थानीय खोलामा आउने बाढी वारपार गरेर विद्यालय र स्वास्थ्य चौकी जान बाध्य भएको उहाँको भनाई छ । उहाँका अनुसार तत्काल पुल निर्माण गर्न वडा कार्यालयसँग बजेटको अभाव रहेको छ । आईतबार खानीखोलामा यो बर्षकै ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
उहाँले भन्नुभयो, ‘विद्यालयमा पढ्न र स्वास्थ्य चौकी उपचार गर्न जान समस्या भएपछि स्थानीयको जनश्रमदान र वडाको बजेटबाट गत बर्ष खानीखोलामा काठेपुल निर्माण गरी सञ्चालनमा ल्याईएको थियो ।’ छिमेकी फिक्कल गाँउपालिका बासिन्दा समेत सोही पुल वारपार गरेर दुधौली बजार काम बिषेशले आउने जाने गर्दथे ।

