बुध, कार्तिक १२, २०८२

घ्याङ्लेख र गोलन्जोर गाँउपालिका आफ्नै भवन बनाउदै

सिन्धुली । सिन्धुली जिल्लामा दुई वटा स्थानीय तहले आफ्नो प्रशासकिय भवन धमाधम बनाई रहेका छन् ।
जिल्लाका नौ वटा स्थानीय तह मध्ये गोलन्जोर र घ्याङ्लेख गाँउपालिकाले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उक्त भवन बनाएका हुन् । यि गाँउपालिकाले भवन निर्माणका लागि सङघिय सरकारबाट सहयोग प्राप्त गरेपछि आफ्ना समेत लगानी गरी भवन निर्माण कार्य अघि बढाएका हुन् । बाँकी सात वटा पालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरि सेवा प्रवाह गरि सकेका छन् ।
भाडाको घरबाट दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएको गोलन्जोर गाँउपालिकाले कुल छ करोड ११ लाख ११ हजार रुपिया (भ्याट बाहेक) लागतमा चार तले ३८ कोठाको उक्त भवन निर्माण भई रहेको जनाएको छ । गाँउपालिकाका अध्यक्ष शंकर बरालले उक्त लागत मध्ये उक्त लागत मध्ये नेपाल सरकार स्थानीय पूर्वाधार कार्यालयको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने गरी उक्त भवन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । उक्त भवन निर्माणका लागि पाईनस कन्ट्रक्सन प्रालि बानेश्वरले दुई बर्षमा सक्ने गरी २०८० साल भदौ १२ गते ठेक्का सम्झौता गरेको छ । उहाँले भन्नुभयो, ‘ठेकेदारले काम रफ्तारमा गरे पनि सङ्घिय सरकारबाट आउनु पर्ने बजेट नआएपछि काममा ढिला सुस्ती आएको छ ।’
‘सङ्घिय सरकारले साँढे चार करोड रुपिया पठाउनु पर्ने छ, तर अहिलेसम्म करिब ८२ लाख रुपिया मात्रै आएको छ,’ गाँउपालिका अध्यक्ष बरालले भन्नुभयो, ‘पुरस्कार खाने गरी ठेकेदारले रफ्तारमा काम गरेको देखिन्थ्यो । गएको बैशाखमा नै काम सकिन्थ्यो । सङ्घिय सरकारले पठाउनु पर्ने पैसा बेलैमा नपठाएपछि काममा ढिला सुस्ती भएको छ ।’
भवनको भ्mयालढोका र मार्बलको काम बाहेक अरु काम सकिएको अवस्था रहेको उहाँले सुनाउनुभयो । ‘माथिबाट आउने बजेटका लागि हामीले सम्पर्क गर्ने डोलिडारलाई हो, उस्ले अर्थलाई भन्नुभन्छ,’ गाँउपालिका अध्यक्ष बरालले थप्नुभयो, ‘अर्थ मन्त्रीलाई भेट्न हामी सानु मान्छे, पावर पुग्दैन । यस्तै छ ।’ उक्त भवन निर्माणको म्याद आगामी मङ्सिरसम्म रहेको गाँउपालिकाले जनाएको छ ।
त्यस्तै घ्याङलेख गाँउपालिकाको पनि झण्डै तीन बर्षदेखि प्रमुख प्रशासकिय भवन निर्माण गरि रहेको छ । भवन निर्माण कार्य हालसम्म ४५ प्रतिशत सकिएको छ । सङ्घिय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपिया र गाँउपालिकाको दुई करोड २५ लाख ३० हजार ४३८ रुपिया गरी कुल पाँच करोड ६३ लाख २६ हजार ९५ रुपिया लागतमा उक्त भवन निर्माण भई रहेको गाँउपालिकाले जनाएको छ ।
प्रमुख प्रशासनिक भवन निर्माण नहुदा अहिले दुई वटा भवनबाट काम चलाउ रुपमा सेवा प्रवाह गरेको र साना कोठा भएक कारण सेवा प्रवाहमा कठिन भएको छ । ‘स–साना कोठा छन्, कार्यालय दुई ठाँउमा राखिएको छ,’ प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले भन्नुभयो, ‘साना कोठा हुदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।’ उहाँका अनुसार भवन निर्माणको काम छिटो गरे अझै नौ महिना जति लाग्ने देखिन्छ ।
गाँउपालिकाका अनुसार उक्त गाँउपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएको थियो । अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको अवस्था छ । बिषयगत शाखाहरु भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भई रहेको छ । उक्त भवन निर्माणका लागि १८ महिनामा सक्ने गरी पिपि ईश्वरी जेभि मन्थली, रामेछापले २०७९ साल भदौ ३१ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । त्यसपछि दुई पटक छ÷छ महिना म्याद थप गर्दा पनि ४५ प्रतिशत मात्रै भवन निर्माण कार्य सकिएको गाँउपालिकाले जनाएको छ ।
भवनको दुई महिना अघि ढलान सकेको र अव गाह्रो लगाउने काम सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले सुनाउनुभयो । उहाँका अनुसार पछिल्लो पटक फागुन महिनामा चैतबाट लागू हुने गरी छ महिनाका लागि म्याद थपेको र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म रहेको छ ।
उता फिक्कल गाँउपालिकाले पनि झण्डै छ करोड रुपिया निर्माण लागतमा प्रमुख प्रशासकिय भवन निर्माण भएको र उद्घाटन गरी सेवा प्रवाह सुरु गर्न बाँकी रहेको जनाएको छ । दुधौली नगरपालिका, मरिण गाँउपालिका, सुनकोसी गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका, तीनपाटन गाँउपालिकाले प्रशासनिक नयाँ भवन निर्माण गरेको जनाएका छन् । कमलामाई नगरपालिकाले भने पहिलेदेखि नै आफ्नै प्रशासनिक भवन रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार