सिन्धुली । बर्खाको मौसममा जोखिम बढेसँगै बीपी राजमार्गको खुर्कोट–काभ्रे भञ्ज्याङ खण्डमा शुक्रबारदेखि १५ दिनसम्म रातीको समयमा सबारी साधन सञ्चालनमा रोक लगाईएको छ ।
सिन्धुली जिल्लाको मुलकोटमा सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका संयुक्त सुरक्षा समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुदा कुनै पनि समयमा बर्खाका कारण विपदको अवस्था सिर्जना हुन जाने भएकाले सो हुन नदिन र यात्रु तथा सबारी सुरक्षामा सतर्कता अप्नाउनका लागि उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार गत बर्ष असोजको बाढी पहिरोबाट क्षतविक्षेत भएको बीपी राजमार्गमा सिन्धुलीको खुर्कोटदेखि काभ्रे भज्याङ् खण्ड बढी जोखिम रहेकाले उक्त निर्णय लिएको हो । सिन्धुली, काभ्रे र रामेछापका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त खण्डमा आगामी १५ दिनसम्मका लागि बेलुका ६ः३० बजेखि बिहान ५ बजेसम्म मालबाहकसबारी साधन बाहेक अन्य सबै सबारी साधन सञ्चालनमा रोक लगाईएको छ ।
कार्यालका अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमा र काठमाण्डौ हिडेका गाडीहरू सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था मिलाइएको छ । राजमार्गको पर्खाल भत्किने, पहिरो खस्ने, सडक चिप्लिने, भिजेका ठाउँमा गाडी चिप्लिने तथा रातिको समय अँध्यारो हुने जस्ता कारणले दुर्घटनाको सम्भावना बढेकाले यातायातमा अस्थायी रोक लगाउनु परेको हो ।
गत बर्षको बाढी पहिरोबाट क्षतबिक्षत भएको बीपी राजमार्गका् नेपालथोक–भकुण्डेबोसी खण्डको करिब १२ किलोमिटर सडक अहिले बैकल्पिक र अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा ल्याईएको छ ।
राजमार्गको क्षतीग्रस्त सडक खण्डको हालसम्म पुनर्निर्माण हुन नसक्दा बर्खायाममा यात्रुले जोखिम बेहोरेरै यात्रा गर्नु पर्ने अवस्था छ । सडक भत्किएका कारण झण्डै नौ महिनादेखि रोसीखोला तथा अस्थायी सडकबाट सवारीसाधन वारपार हुनुपर्ने बाध्यता रहको स्थानीय बासिन्दा बताउछन् । सुनकोसी गाँउपालिकाका उपाध्यक्ष कपिल कोईराला बर्खाको मौसम सुरुसँगै बीपी राजमार्गको उक्त खण्डमा यात्रु त्रास र जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको बताउनुहुन्छ ।
सरकारले बाढी पहिरोबाट क्षतीग्रस्त बीपी राजमार्ग पुननिर्माणका लागि ठेक्का प्रकृया अघि बढाई काभ्रे खण्डको साढे आठ किलो मिटर सडकको पुननिर्माण सुरु गरेपनि सिन्धुली तर्फको बाँकी खण्डको कामको ठेक्का लाग्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
फोटो क्याप्सन
बाढी पहिरोबाट क्षतीग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा बैकल्पिक सडक निर्माण गरिदै । तस्बिर ः बाबुराम देवकोटा, सिन्धुली

