बुध, कार्तिक १२, २०८२

सन्दीप गडियाले भित्र्याएको नक्कली नियोसिया भ्यानको आयात र बिक्रीमा अदालतको प्रतिबन्ध

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक

काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,” अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।

यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर, उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो ।

यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए ।

भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो ।

केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर, पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए ।

केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ ।

नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, “अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्‍याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।”

अदालतको ताजा आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार