काठमाडौँ । हिडन ट्रेजरले मिस नेपाल २०२५ को आवेदन खुला गरेको छ। यस वर्ष प्रतियोगितामा पहिलोपटक ‘मिस नेपाल कोस्मो’ शीर्षक समावेश गरिएको छ। प्रतियोगिताको फिनाले भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने तय भएको छ।
यो वर्षको मिस नेपाल प्रतियोगिताबाट चार जना विजेता घोषणा गरिनेछ, मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र नयाँ थपिएको मिस नेपाल कोस्मो। ‘मिस नेपाल कोस्मो’को उपाधि जित्ने प्रतियोगीले भियतनाममा आयोजना हुने ‘मिस कोस्मो’ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
हिडन ट्रेजरले मिस नेपालको खोजीका लागि देशका विभिन्न सहरमा अडिसन गर्ने तयारी गरेको छ। छनोटमा परेका प्रतियोगीहरूलाई विशेष प्रशिक्षणसहित ग्रुमिङ सेसनमा सहभागी गराइनेछ। संस्थाका निर्देशक सुवर्णबहादुर क्षेत्रीले मिस नेपाल प्रतियोगिता अघिल्लो उपलब्धिमा उभिँदै अझ सुनौलो भविष्यतर्फ अघि बढिरहेको बताए। ‘हामी ३० औं संस्करणमा छौं, यस यात्राले विगत, वर्तमान र भविष्यलाई जोडिरहेको छ,’ उनले भने।

