धान जोगाउन सीमामा हरेली पुजा।
बालाराम सेर्पाली,
रुकुम पूर्वको भूमे गाउँपालिका –३ सिमामा धान बालीको सुरक्षाका लागि परम्परागत हरेली पूजा गरिएको छ।साउन महिनामा आइतबार पर्ने दिन मनाइने यो पूजामा गाउँका सबै किसानले आ–आफ्नो खेतमा गई बालीनालीलाई मुसा, कीरा–फट्याङ्ग्रा र विषालु जीवजन्तुबाट जोगाउन पूजा गरेका हुन्।हरेली पूजाको परम्परा यस गाउँमा पुर्खादेखि चल्दै आएको स्थानीय जानकार उदिम पुनमगरले बताए।“हरेली साउन १५ देखि २५ भित्र आइतबार पर्छ भने त्यो दिन पूजा गरिन्छ,” उनले भने।पूजाको तयारी अघिल्लो दिन शनिबार गरिन्छ भने आइतबार बिहान बिहान खेतमा गई पूजा गर्ने चलन रहेको छ।
स्थानीय राजन पुनमगरका अनुसार हरेली पूजामा गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, कीरा–फट्याङ्ग्रा, घरायसी सामग्री बनाइन्छ।“बिरालोले मुसा खाओस्, किराले धान नखाओस् भन्ने विश्वासका साथ पूजामा ती सामग्री बनाएको पुनमगररले बताए।
स्थानीय युवती जीवन सुनारले हरेली पूजा किसानको बालीप्रतिको माया हो भन्दै युवापुस्ताले यसको संरक्षण गर्नुपर्ने धारणा राखिन्।अहिलेका केटाकेटी खेतीतिर ध्यान दिंदैनन्, परम्परा हराउने डर छ। सुनारले भनिन्।
शनिबार खेतको बिचमा मिहेल जातको हाँगा गाड्ने चलन पनि छ।जसलाई स्थानीय भाषामा ‘भोकर’ भनिन्छ।यही भोकरलाई पूजा स्थल बनाइन्छ।भूमि देवता र पुर्खाको संरक्षण होस् भनेर भोकरमा पूजा गर्छौं।स्थानीय युवा चन्द्र रसाइलीले बताए।
पूजा सकिएपछि चौतारीमा जम्मा भई मिठो खानेकुरा खानेदेखि बरदान माग्ने चलन छ।सन्तान नभएकाले सन्तान, विवाह नभएकाले विवाह, विद्यार्थीले विद्या, गरिबले धन माग्ने पूजाको विशेषता रहेको छ।पूजापछि गाउँलेहरू गीत–सङ्गीत र नाचगानमा रमाउँछन्।वर्षभर खेत, बारी र वनजङ्गलमा क्षति नहोस् भन्ने कामना गर्दै परम्परागत ढंगमा गीत गाउँदै नाच्ने गरिन्छ।

